नयाँ वर्षमा कहाँ घुम्न जाने ? हेर्नुहोस एक चोटी यी हुन् नेपाल को अति सुन्दर घुम्ने पर्ने ठाउँ हरु


जाडो मौसम सकिएर गर्मी सुरु भएको छ । घुमफिर गर्नका लागि यतिबेलाको मौसम उपयुक्त मानिन्छ । नयाँ वर्षमा त झन् धेरैले घुम्न जाने योजना बनाउने गर्छन् । तर घुम्ने ठाउँको बारेमा उपयुक्त ज्ञान नहुँदा पनि कहिलेकाहीँ अप्ठेरो पर्न सक्छ ।

नयाँ वर्षमा घुमफिरको लागि कुन कुन ठाउँ उपयुक्त छ त ?

पोखरा :

पोखरालाई पर्यटकको राजधानीकै रुपमा चिनिन्छ । यहाँ बिदाका विभिन्न समयमा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रसिद्ध मानिन्छ ।
पोखराको सबैभन्दा आकर्षण भनेको नै यहाँको प्राकृतिक सुन्दरता नै हो । यहाँको फेवाताल सबैभन्दा परिचित छ । पोखराबाट माछापुच्छ्र्रे हिमालसमेत आँखै अगाडि देख्न सकिन्छ ।पोखरामा घम्नका लागि आकर्षक ठाउँहरुमा डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, बेगनास ताललगायतका विभिन्न मनमोहक ठाउँहरु रहेका छन् । यहाँको सराङकोट अको आकर्षकको रुपमा परिचित छ ।अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला जस्ता अनेकौँ प्राकृतिक सम्पदाको अवलोकन यहीँबाट गर्न सकिन्छ ।

चितवन :


चितवन राष्ट्रिय निकुञ्ज विशेषगरी वाइल्ड लाइफप्रति अभिरुची भएका पर्यटकहरुका लागि उपयुक्त मानिन्छ । यहाँ नेपालमा मात्र पाइने एकसिंगे गैंडासँगै विभिन्न प्रजातिका जंगली जनावर तथा विभिन्न जातजातका पन्छीहरुको अवलोकन गर्न सकिन्छ ।यसबाहेक जंगल सफारीका लागि सौराहा प्रसिद्ध मानिन्छ । त्यसैले चितवन पनि घुम्नका लागि आकर्षक स्थान हो । यहाँ विभिन्न प्रजातिका चराहरु पनि अवलोकन गर्न सकिन्छ ।

लुम्बिनी :


गौतम बुद्धको जन्मस्थल लुम्बिनी धार्मिकस्थल हो । लुम्बिनी स्वदेशी तथा विदेशी दुवै पर्यटकका लागि उत्तिकै प्रसिद्ध मानिन्छ । बौद्ध दर्शन अध्ययन अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनीलाई महत्वपूर्ण गन्तव्यस्थलका रुपमा लिन सकिन्छ ।लुम्बिनीको मुख्य आकर्षक केन्द्रबिन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र यहाँको पवित्र पोखरीले यसको सौन्दर्यतामा अझ रौनकता थपिदिएको छ ।अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख अध्ययन गर्नका लागि यहाँको गन्तव्य रोज्न उपयुक्त छ ।

अन्नपूर्ण पदमार्ग :


पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल हो अन्नपूर्ण पदमार्ग । लमजुङ सदरमुकाम बेसीशहरलाई अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिने गरिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुग्न सकिन्छ ।अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि यो उपयुक्त गन्तव्यस्थल हो ।

मुस्ताङ :


घुम्न मन पराउने पर्यटकहरुले मुस्ताङको नाम छुटाउँदैनन् । आन्तरिक पर्यटकहरुले जीवनमा एकचोटि घुम्नैपर्ने ठाउँको सूची मुस्ताङलाई राख्ने गरेका छन् ।विश्वकै ख्यातिप्राप्त ‘लोन्ली प्लानेट’ ले पनि मुस्ताङलाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ । तीर्थस्थल मुक्तिनाथ पनि यही ठाउँमा रहेको कारण धार्मिक पर्यटकहरु पनि यो ठाउँप्रति आकर्षित हुने गरेका छन् ।यातायात सुविधा सहज भएपछि पछिल्लो समय मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ । जोमसोमदेखि माथिल्लो मुस्ताङसम्मै यातायात सुविधा उपलब्ध छ । यो मौसममा खासगरी माथिल्लो मुस्ताङ घुम्न लायक ठाउँ हो ।जोमसोमबाट एक दिनको जिप यात्रामा उपल्लो मुस्ताङसम्मै पुग्न सकिन्छ । उपल्लो मुस्ताङको आकर्षण भनेको नै .यहाँको फरक जीवनशैली हो । देशमा मुस्ताङ क्षेत्रमा कागबेनी, नौतले गुफा, थकाली संस्कृति, मनमोहक प्राकृतिक दृश्य र कोरला नाका आदि ठाउँहरु प्रसिद्ध छन् ।

रारा :


देशकै सबैभन्दा ठूलो ताल रारा पुग्ने इच्छा जो कोहीलाई हुन्छ । धर्तीकै स्वर्गको रुपमा पनि रारालाई धेरैले विश्लेषण गर्ने गरेका छन् । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा ताल घामको किरण अनुसार रङ फेर्ने गर्छ ।प्रकृतिको उपहारको रूपमा सृजित रारातालको मनोरम हरियाली, यहाँ पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूलेसमेत आकर्षक बनाउने गरेका छन् ।रारातालबाट ३ घण्टाको पैदल यात्रा पछि यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । यो ठाउँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीँ नपाइने असला जातको माछासमेत पाइन्छ ।
सुर्खेतबाट दुई हप्ता हिंडेरमात्रै रारा पुग्न सकिन्थ्यो । तर अहिले हवाई उडान र मोटरबाटोको सुविधा राराको नजिक पुगेकाले लामो समय लाग्दैन । मोटर चढेर जान चाहनेका लागि सुर्खेतबाट कालीकोट हुँदै रारा पुग्न सकिन्छ । त्यस्तै बाँकेको नेपालगञ्ज र सुर्खेतबाट हवाई उडानमा मुगुको ताल्चासम्म पुगिन्छ र ताल्चाबाट केही घण्टा हिंडेपछि रारा पुग्न सकिन्छ ।रुट नम्बर १ : मोटरबाट पैदलहुँदै रारा पुग्ने बाटो सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्गअन्तर्गत कालिकोटको माग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौर हुँदै रारा तालको छेवैमा पुग्न सकिन्छ । फोरहवील गाडीमा सजिलै रारा ताल पुग्न सकिन्छ ।

खप्तड :

प्राकृतिक सुन्दरताको अनुपम उपहार हो खप्तड । डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थलमा रहेको खप्तड क्षेत्रलाई सुदूरपश्चिमकै भूस्वर्ग पनि भनिन्छ । वैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकिएको हुन्छ ।खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । खप्तड धार्मिक क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु रहेका छन् ।धनगढीबाट आठ घण्टाको बस यात्राबाट डोटीको सिलगढी पुगेपछि पैदल यात्रामा पहिलो दिन झिगराना पुगिन्छ भने अर्को दिनमात्रै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ ।

इलाम :

महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ ।यहाँको चियाबारी, हरियाली, साना–ठूला नदी–नाला, पोखरी, मठ–मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्व हुन् । नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ ।इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम घुम्नका लागि असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ ।

लाङटाङ :

रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार आदिको अवलोकनका लागि लाङटाङ उपयुक्त गन्तव्यस्थल हो । लाङटाङ हिमाल र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र हो लाङटाङ ।पदयात्राका लागि निकै नै उत्कृष्ट मानिने यो क्षेत्रलाई नेपालको तेस्रो गन्तव्यको रुपमा चिनिने गर्छ । नेपालको राजधानीबाट नजिकै पर्ने यो क्षेत्र धार्मीक महत्वका हिसाबले पनि महत्वपूर्ण भएकाले धार्मीक पर्यटक पनि यो क्षेत्रमा जाने गरेका छन् ।

कोशी टप्पु :

कोशी टप्पु वन्यजन्तु आरक्ष चरा अवलोकन गर्नेहरुका लागि उपयुक्त गन्तव्यस्थान हो । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ ।
कोशी टप्पुलाई अर्नाको राजधानी र चराहरूको स्वर्गका रुपमा चिनिने गरिएको छ । तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो ।
कोशीको टप्पुको टप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ । सिसौ, खयर र सिमलका रूख र पोथ्रा–पोथ्रीहरूले भरिएको यो टप्पु सिमसार भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि विश्वमै प्रसिद्ध छ ।विराटनगरबाट ५० किमी उत्तर–पश्चिम र धरानबाट ४० किलोमिटर पश्चिम दक्षिणमा रहेको कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। कोशीटप्पु पुग्न इटहरी र इनरुवा बीचमा पर्ने झुम्का तथा धरानबाट चतरा भएर जानुपर्ने हुन्छ ।

यसबाहेक काठमाडौं उपत्यका र देशका अरु ठाउँ पनि नयाँ वर्षमा घुमफिरका लागि उपयुक्त छन् ।

आफ्नै शुक्रकिट प्रयोग गरी ११ महिलालाई गर्भवती बनाए यी डाक्टरले


काठमाडौं । क्यानडामा एक डाक्टरले आफ्नो शुक्रकिटको अनधिकृत प्रयोग गरी ११ जना महिलालाई गर्भवती बनाएका छन् ।
फर्टिलिटी अर्थात् प्रजनन सम्बन्धी ती डाक्टरले आफूकहाँ सन्तानलाभको उपचारका लागि आउने महिलाहरुलाई उनीहरुका लोग्नेको अनुमति तथा जानकारी विना नै आफ्नो शुक्रकिट प्रयोग गरी गर्भवती बनाएको आरोप लागेको छ ।नर्मन बारविन नामका डाक्टरले त्यसो गरेर ११ जना महिलालाई गर्भवती बनाई ११ वटा बच्चाका जैविक पिता बनिसकेका थिए ।
ती डाक्टरले किन त्यस्तो अपराध गरे ? भन्ने बारेमा खुलेको छैन । आफूकहाँ उपचारका लागि आउने महिलाको अनुमति र जानकारी विना नै आफ्नो शुक्रकिटबाट गर्भवती बनाउने गम्भीर अपराधको पर्दाफास भएसँगै त्यसले ठूलै तहल्का मच्चाएको छ ।यस प्रकारको पहिलो घटना सन् २०१६ मा सार्वजनिक भएको थियो । जब ओटावाका एक दम्पत्तिले ती डाक्टरमाथि सन् १९९० मा आफ्नो कृत्रिम गर्भाधानका क्रममा लोग्नेचाहीँको शुक्रकिटको साटो डाक्टरले आफ्नै शुक्रकिट प्रयोग गरी पत्नीलाई गर्भवती बनाएको दाबी गरेका थिए ।
सन् १९९० मा जन्मिएकी छोरी डाक्टरको शुक्रकिटबाट जन्मिएको अनौठो दाबीसहित दम्पत्तिले उजुरी गरेसँगै भएको छानविनका क्रममा ती डाक्टरको करतूत पर्दाफास भएको हो ।
अनुसन्धानपछि केही अनौठा तथ्यहरु पनि बाहिर आए । ती डाक्टरको शुक्रकिटबाट महिलाहरु गर्भवती हुने क्रम सन् १९७० देखि नै सुरु भएको खुलासा भयो । उनीसँग फर्टिलिटी उपचार गराएका महिलाहरुबाट जन्मिएका बच्चाबच्चीहरुको डिएनए टेष्टका क्रममा ११ जना बच्चाहरु उनको शुक्रकिटबाट पैदा भएको पत्ता लागेको छ ।
अन्य १६ जना दम्पत्तिहरुले आफ्ना बच्चाबच्चीको डिएनए आफूले शुक्रकिट दानका लागि छनोट गरेको पुरुषको डिएनएसँग नमिलेको बताएका छन् ।त्यस्तै ती डाक्टरले शुक्रकिटको मामिलामा गडबडी गरेका अरु ३५ वटा घटना पनि फेला परेको बताइएको छ । यस विषयमा अझैसम्म पनि छानविन चलिरहेको बताइएको छ ।
– एजेन्सीको सहयोगमा

निर्वाचन आयोगको नाममा करोडौं बेरुजु

निर्वाचन आयोगले स्थानीय चुनावका बेला अनियमितता गरेको भेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले उक्त संवैधानिक निकायले गरेको खर्चमध्ये १९ करोड रुपैयाँ बेरुजु देखिएको जनाएको छ।
सरकारी एवम् संवैधानिक अंगको लेखा परीक्षण गर्ने उक्त केन्द्रीय निकायले नमुना मतपत्रको छपाइमा बढी भुक्तानी दिएकोदेखि खाना र खाजा लगायतको भत्ताको दोहोरो भुक्तानी दिएकोसम्मको अनियमिततता आफ्नो वार्षिक प्रतिवेदनमा समेटेको छ।
मन्त्रालयहरुमा चाहिँ खानेपानी र शहरी विकास मन्त्रालयमा बेरुजुको प्रतिशत धेरै रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०७३/७४ को सरकारी कार्यालय, स्थानीय तह, समिति र संस्था लगायतका निकायमा भएका आर्थिक कारोबारको लेखा परीक्षण गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको महालेखा परीक्षकको कार्यालयले ती कार्यालयमा रहेको बेरुजुको विवरण सार्वजनिक गरेको छ।

अस्पतालको शिशा फोरेर तेस्रो तल्लाबाट हाम्फाले एक बिरामी


पोखरा : उपचारको लागि अस्पताल भर्ना एक जना बिरामी अस्पतालको झ्यालको शिशा फोरेर हाम्फालेका छन्।
बिहीबार करिब पौने पाँच बजेको समयमा पोखराको नयाँबजारस्थित चरक हस्पिटलमा उपचाररत बिरामीले अस्पतालको तेस्रो तलाबाट हाम फालेका हुन्।
लमजुङ घर भई पोखरा ११ फूलबारी बस्ने युवराज गुरुङले हाम्फालेको प्रहरीले जानकारी दिएको छ।
गुरुङको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ। ३० वर्षीय गुरुङलाई चरक हस्पिटलबाट मनिपाल शिक्षण अस्पताल फूलबारीमा रिफर गरिएको छ। उनको मानसिक समस्या रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सिरिया: 'कारबाहीको विषय छलफलको क्रममा'

ह्वाइट हाउसले सिरियाको डुमा क्षेत्रमा सरकारी फौजले गरेको भनिएको रासायनिक हमलाप्रति कसरी प्रतिक्रिया जनाउने भन्नेबारे सबै विकल्पहरू छलफलको क्रममा रहेको जनाएको छ।
सिरियाको दमास्कस नजिकै गत शनिवार भएको भनिएको रासायनिक हमलाबारे प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले, सिरियालाई सघाउँदै आएको रूसलाई क्षेप्यास्त्र प्रहारका लागि तयार रहन चेतावनी दिएका छन्।
ट्वीटमार्फत दिइएको चेतावनीमा ट्रम्पले "क्षेप्यास्त्रहरू आउँदै छन्" भन्दै रुसलाई तयार रहन भनेका छन्।

छलफल

राष्ट्रपति डोनल्ड ट्रम्पकी प्रवक्ता सेराह स्यान्डर्सले ट्रम्पको भन्दा निकै तौलिएर बोलेको जस्तो सुनिन्थ्यो।
उनले ट्रम्पले डुमा हमलाका लागि सिरिया र रूसलाई जिम्मेवार ठानेको विषय दोहोर्‍याइन्।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियाबारे बिहीवार गोप्य छलफल गर्न लागेको छ।

धम्की

यसैबीच वरिष्ठ रुसी अधिकारीहरूले अमेरिकाले गर्ने कुनै पनि हमलाको जवाफ दिइने चेतावनी दिएका छन्।
सिरियाका राष्ट्रपति बसर अल असदको सरकारले विद्रोही नियन्त्रित क्षेत्र डुमामा कुनै रासायनिक हमला भएको भन्ने आरोप अस्वीकार गर्छ।
बुधवार गरेको एउटा ट्वीटमा ट्रम्पले सिरियाका नेतालाई उनकै शब्दमा ग्यासको प्रयोग गरी मानिसको हत्या गर्ने जनावर भनेका छन्।

अभिनेत्री सोनम कपूर यही अप्रिलमै विवाह गर्दै


चैत २९ – बलिउड अभिनेत्री सोनम कपूरको विवाह व्यापारी आनन्द आहुजासँग हुने कुराले अहिले बलिउड तातेको छ । यो जोडीको विवाह कहिले मे महिनामा हुने त कहिले अप्रिलमै हुने भनेर विभिन्न खबरहरु आए पनि अब भने साँच्चै विवाह कहिले हुने भन्ने कुराको टुंगो लागेको छ । सोनम कपूर र आनन्द आहुजाको विवाह यही अप्रिल २९ र ३० मा हुनेछ । यसअघि विवाह स्विट्जरल्याण्डमा हुने बताइएता पनि अब भने विवाह भारतको मुम्बईमा नै हुने भएको छ । सोनम र आनन्दको विवाह मुम्बईको कुनै पाँचतारे होटलमा अप्रिल २९ र ३० अर्थात दुई दिनमा सम्पन्न हुनेछ । सोनम कपूरका काका बोनी कपूरकी श्रीमती श्रीदेवीको निधनका कारण विवाह कार्यक्रम निकै नै साधारण तरिकाले हुनेछ । विवाहमा केवल पारिवारिक सदस्य तथा निकट व्यक्तिहरुलाई मात्रै आमन्त्रित गरिनेछ । साथै आमन्त्रित व्यक्तिहरुलाई विवाहका वारेको खबर गोप्य राख्न र मिडियालाई यसबारे कुनै जानकारी नदिनसमेत बताइएको छ ।सोनमको विवाहका लागि उनका मातापिता निकै दुविधामा रहेका थिए । श्रीदेवीको अचाक भएको मृत्युका कारण विवाहलाई अर्को साल गर्ने मनसाय पनि बनाएका थिए । तर बोनी कपूर स्वयमले विवाहको मितिलाई नलम्ब्याएर पहिला निर्धारित मितिमै विवाह गर्न सल्लाह दिएपछि अनिल कपूर छोरी सोनमको विवाह गर्न राजी भएका हुन ।आनन्द आहुजा भारतको दिल्लीका स्थापित उद्योगपति हुन । परिवारकै स्वीकृतिमा आनन्दलाई सोनमले दुइवर्षदेखि डेट गरिरहेकी छिन् । 

राती अबेर बस्नेहरुमा मृत्युको जोखिम १० प्रतिशत बढी



के तपाईंको राती अबेरसम्म जागै बस्ने अनि बिहान जबर्जस्ती उठ्ने बानी छ? त्यसो हो भने होस् गर्नुहोस्। किनभने हालै अनुसन्धानकर्ताहरुले त्यस्ता व्यक्तिको चाँडै सुतेर चाँडै उठ्नेहरुभन्दा कम उमेरमै मृत्यु हुने सम्भावना बढी हुन्छ।

ढिला सुत्ने र ढिला उठ्नेहरुलाई ‘उल्लु’ तथा चाँडै सुतेर घामसँगै उठ्नेहरुलाई ‘भारद्वाज’ पंक्षीको रुपमा वर्गीकृत गरिन्छ।

बेलायतमा ४ लाख ३० हजार मानिसमा साढे ६ वर्ष लगाएर गरिएको अध्ययनमा उल्लुहरु भारद्वाजको तुलनामा कम उमेरमै मृत्यु हुने जोखिम १० प्रतिशतले बढी हुन्छ।

‘यो जनस्वस्थ्यको मुद्दा हो र यसलाई बेवास्ता गर्न मिल्दैन,’ अनुसन्धानकर्तामध्ये एक सर्रे युनिभर्सिटीका मालकोम भान सान्ज भन्छन्। उनी राती अबेर बस्ने व्यक्तिहरुलाई बिहान ढिला उठ्न दिनुपर्ने तर्क गर्छन्।

‘बिहान चाँडै उठ्नेहरुको संसारमा मिल्न खोजिरहेका ढिला सुत्ने मानिसहरुले गम्भीर जोखिम भोग्नुपर्ने हुनसक्छ,’ अनुसन्धानका लेखक नर्थवेस्टर्न युनिभर्सिटी सिकागोका क्रिस्टेन नटसन भन्छिन्।

उनीहरुले ३८ देखि ७३ वर्षबीचका झण्डै पाँच लाख मानिसको तथ्यांक विश्लेषण गरेका थिए। ती व्यक्तिलाई उनीहरुको दैनिकी र रुचीको आधारमा चार वर्गमा विभाजित गरिएको थियो।

साढे ६ वर्षमा तीमध्ये जम्मा १० हजार ५०० व्यक्तिको मृत्यु भयो।

यो तथ्यांक विश्लेषण गर्दा चाँडै सुतेर चाँडै उठ्ने मानिसको तुलनामा राती अबेर बस्नेहरुमा मृत्युको जोखिम १० प्रतिशत बढी रहेको पाइयो।

राती अबेरसम्म बस्नेहरुमा मनोवैज्ञानिक विकार, मधुमेह, पेट तथा स्वासप्रस्वासमा कष्टजस्ता समस्या भेटिए। त्यस्ता व्यक्तिले धुम्रपान, मद्यपान, कफी सेवन र लागुऔषध प्रयोग गर्ने सम्भावना पनि बढी भेटियो।

राती ढिलासम्म जागै बस्नेहरुको जैविक घडी बाहिरी वातावरणसँग मेल नखाने हुनाले बढी जोखिम देखिएको हुनसक्ने पनि नट्सन बताउँछिन्।

केही वंशाणुगत रुपमै र अरुहरु काम, दैनिकी र गुणका कारण राती अबेर बस्ने उनको भनाइ छ। त्यसैले यस्ता व्यक्तिको दैनिकीमा केही लचिलोपन हुनुपर्ने उनी बताउँछिन्। ‘उनीहरुलाई बिहान आठै बजेको कामका लागि उठाउनु हुँदैन,’ नट्सन भन्छिन्।

बाबु–आमा मरेको ४ वर्षपछि बच्चाको जन्म

सन् २०१३ मा एउटा सडक दुर्घटनामा परी मृत्यु भएका दम्पतिले सुरीक्षत साथ राखेको आफ्नो शुक्रकिट तथा डिम्बको प्रयोग गरी ‘सेरोगेसी’ मार्फत बच्चा जन्मिएको हो। छोरी–छोरीको मृत्यु भए पश्चात आमा–बुवाले उक्त शुक्रकिट तथा डिम्बमाथि हक दाबी गर्दै लामो कानुन लडाईं पश्चात त्यसलाई प्राप्त गर्न सफल भएका थिए।

उनीहरुले शुक्रकिट तथा डिम्बमाथि हक स्थापित गरे पनि चीनमा सेरोगेसी कानुनत: वैध नभएका कारण उनीहरुले त्यसलाई सडकमार्गबाटै छिमेकी देश लाओस पुर्‍याएका थिए। तरल नाइट्रोजनमा फ्रिज्ड गरिएको शुक्रकिट र डिम्बलाई कुनै पनि विमान कम्पनीको बोक्न नमाने पछि उनीहरुले सडकमार्ग प्रयोग गर्नुपर्ने बाध्यता परेको थियो।

लाओसमा व्यावसायिक सेरोगेसी वैध भएकाले उनीहरुले शुक्रकिट र डिम्बलाई त्यहाँ लगेर सेरोगेट आमा मार्फत बच्चालाई जन्माएका थिए। उक्त बच्चा २०१७ डिसेम्बरमा जन्मिएकाे बताइएकाे छ ।

त्यसपछि पनि वंश अगाडि बढाउन लागि परेका दुई चिनियाँ दम्पति सामु अर्को बाधा आइपर्‍यो। त्यो थियो बच्चाको पहिचान स्थापित गर्ने। त्यसका लागि दुवै दम्पतिले आफ्नो रगत तथा डिएनए परिक्षण गराउनु परेको थियो। डिएनएले उक्त बच्चा दुई दम्पतिको नाति भएको पुष्टि गरेपछि भने उक्त बच्चाले आधिकारिक रुपमा चिनियाँ पहिचान प्राप्त गरेको हो।

सिरियामा क्षेप्यास्त्र हान्न सकिन्छ : ट्रम्प


इस्तानबुल, चैत २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको छ ।उनीहरुबीच सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि के–कसरी अघि बढ्न सकिन्छ भन्नेबारेमा कुराकानी भएको बताइएको छ ।टर्किस् राष्ट्रपतिको कार्यालयले उक्त टेलिफोन वार्ता भएको जानकारी दिएको छ ।उक्त जानकारीकाअनुसार सिरियामा जारी पछिल्लो प्रगतिकाबारेमा उनीहरुबीच फोनमा कुराकानी भएको बताइएको छ । तर, यसको पूर्ण जानकारी भने दिइएको छैन ।उक्त कुराकानीको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै धम्की दिएको एक दिनपछि यो फोनवार्ता भएको जनाइएको छ ।उता, टर्किस् प्रधानमन्त्री बिनाली यिल्दीरीमले पछिल्लो समयमा सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीच वाकयुद्ध सुरु भएको भन्दै यस्तो द्वन्द्व रोकेर आवश्यक शान्तिपूर्ण कारबाहीका लागि आग्रह गरेका थिए ।अमेरिका र टर्की नजिकका नेटो सैन्य सहयोगी गठबन्धनका सदस्य राष्ट्र हुन् । तर, पछिल्ला केही समयमा भने यी राष्ट्रहरुबीच केही आन्तरिक मुद्दाका कारण असहमझदारी विकास हुँदै गएको बताइन्छ ।सिरियामा क्षेप्यास्त्र हान्न सकिन्छ : ट्रम्पअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सिरियामा क्षेप्यास्त्रहरू प्रहार गर्नसकिने चेतावनी दिएका छन् ।उनले आफ्नो ट्वीटर अकाउन्टमा सो सन्देश राखेको बताइएको छ ।गत हप्ता सिरियामा भएका केही हमलाहरुमा पनि रासायनिक हतियारको प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकालाई यस्तो क्रियाकलाप मान्य नहुने राष्ट्रपति ट्रम्पले बताएका हुन् ।उनले त्यसका लागि तयार रहन रुसलाई पनि धम्की दिएको बताइएको छ । यसलाई रुसले पनि अमेरिकाको धम्कीकारुपमा लिएको छ ।पछिल्लो समयमा रुस र अमेरिकाबीच पनि असमझदारी बढ्दै गएको छ । सिरियामा गएका केही समयदेखि जारी रहेको रासायनिक हतियार हमलामा रुसले सघाएको अमेरिकी आरोप छ ।तर, सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने यस्ता कुनै रासायनिक हमलाको प्रयोग सिरियाली सैनिकले नगरेको दाबी गर्दै आएका छन् ।सिरियामा काम गरिरहेका अमेरिकी मेडिकल अधिकारीसहित सिरियालीमा पनि रासायनिक पदार्थका कारणले देखापर्ने लक्षणहरू देखिएको बताइएको छ ।त्यसैगरी, विश्व स्वास्थ्य संगठनले पनि यसरी सरकारी सैन्यले गरिरहेको भनिएको रासायनिक हतियार हमलाबाट ज्यान गएको स्थानमा बिनाकुनै अवरोध स्वास्थ्य अधिकारीहरुलाई जाने पहुँच दिनुपर्ने माग गरेको छ ।

अमेरिकी प्रस्तावमा रुसद्वारा 'भिटो' प्रयोग

सिरियाको विद्रोही नियन्त्रित डुमा नगरमा भएको भनिएको रासायनिक हमलाबारे स्वतन्त्र छानबिन गर्नुपर्ने अमेरिकी मागविरूद्ध रुसले सुरक्षा परिषद्‌मा भिटो अर्थात् विशेषाधिकार प्रयोग गरेको छ।
योसँगै अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने सम्भावना बढेको देखिएको बीबीसीका राष्ट्रसंघीय मामिला संवाददाताले बताएका छन्।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो मुलुकको प्रस्तावलाई न्यूनतम प्रतिक्रियाको रूपमा व्यख्या गरेकी छन्।
डुमामा सिरियाली फौजबाट गरिएको आक्रमणको जवाफ दिनुपर्नेमा अमेरिका, ब्रिटेन र फ्रान्स सहमत भएका छन्।