नयाँ वर्षमा कहाँ घुम्न जाने ? हेर्नुहोस एक चोटी यी हुन् नेपाल को अति सुन्दर घुम्ने पर्ने ठाउँ हरु


जाडो मौसम सकिएर गर्मी सुरु भएको छ । घुमफिर गर्नका लागि यतिबेलाको मौसम उपयुक्त मानिन्छ । नयाँ वर्षमा त झन् धेरैले घुम्न जाने योजना बनाउने गर्छन् । तर घुम्ने ठाउँको बारेमा उपयुक्त ज्ञान नहुँदा पनि कहिलेकाहीँ अप्ठेरो पर्न सक्छ ।

नयाँ वर्षमा घुमफिरको लागि कुन कुन ठाउँ उपयुक्त छ त ?

पोखरा :

पोखरालाई पर्यटकको राजधानीकै रुपमा चिनिन्छ । यहाँ बिदाका विभिन्न समयमा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रसिद्ध मानिन्छ ।
पोखराको सबैभन्दा आकर्षण भनेको नै यहाँको प्राकृतिक सुन्दरता नै हो । यहाँको फेवाताल सबैभन्दा परिचित छ । पोखराबाट माछापुच्छ्र्रे हिमालसमेत आँखै अगाडि देख्न सकिन्छ ।पोखरामा घम्नका लागि आकर्षक ठाउँहरुमा डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, बेगनास ताललगायतका विभिन्न मनमोहक ठाउँहरु रहेका छन् । यहाँको सराङकोट अको आकर्षकको रुपमा परिचित छ ।अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला जस्ता अनेकौँ प्राकृतिक सम्पदाको अवलोकन यहीँबाट गर्न सकिन्छ ।

चितवन :


चितवन राष्ट्रिय निकुञ्ज विशेषगरी वाइल्ड लाइफप्रति अभिरुची भएका पर्यटकहरुका लागि उपयुक्त मानिन्छ । यहाँ नेपालमा मात्र पाइने एकसिंगे गैंडासँगै विभिन्न प्रजातिका जंगली जनावर तथा विभिन्न जातजातका पन्छीहरुको अवलोकन गर्न सकिन्छ ।यसबाहेक जंगल सफारीका लागि सौराहा प्रसिद्ध मानिन्छ । त्यसैले चितवन पनि घुम्नका लागि आकर्षक स्थान हो । यहाँ विभिन्न प्रजातिका चराहरु पनि अवलोकन गर्न सकिन्छ ।

लुम्बिनी :


गौतम बुद्धको जन्मस्थल लुम्बिनी धार्मिकस्थल हो । लुम्बिनी स्वदेशी तथा विदेशी दुवै पर्यटकका लागि उत्तिकै प्रसिद्ध मानिन्छ । बौद्ध दर्शन अध्ययन अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनीलाई महत्वपूर्ण गन्तव्यस्थलका रुपमा लिन सकिन्छ ।लुम्बिनीको मुख्य आकर्षक केन्द्रबिन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र यहाँको पवित्र पोखरीले यसको सौन्दर्यतामा अझ रौनकता थपिदिएको छ ।अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख अध्ययन गर्नका लागि यहाँको गन्तव्य रोज्न उपयुक्त छ ।

अन्नपूर्ण पदमार्ग :


पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल हो अन्नपूर्ण पदमार्ग । लमजुङ सदरमुकाम बेसीशहरलाई अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिने गरिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुग्न सकिन्छ ।अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि यो उपयुक्त गन्तव्यस्थल हो ।

मुस्ताङ :


घुम्न मन पराउने पर्यटकहरुले मुस्ताङको नाम छुटाउँदैनन् । आन्तरिक पर्यटकहरुले जीवनमा एकचोटि घुम्नैपर्ने ठाउँको सूची मुस्ताङलाई राख्ने गरेका छन् ।विश्वकै ख्यातिप्राप्त ‘लोन्ली प्लानेट’ ले पनि मुस्ताङलाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ । तीर्थस्थल मुक्तिनाथ पनि यही ठाउँमा रहेको कारण धार्मिक पर्यटकहरु पनि यो ठाउँप्रति आकर्षित हुने गरेका छन् ।यातायात सुविधा सहज भएपछि पछिल्लो समय मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ । जोमसोमदेखि माथिल्लो मुस्ताङसम्मै यातायात सुविधा उपलब्ध छ । यो मौसममा खासगरी माथिल्लो मुस्ताङ घुम्न लायक ठाउँ हो ।जोमसोमबाट एक दिनको जिप यात्रामा उपल्लो मुस्ताङसम्मै पुग्न सकिन्छ । उपल्लो मुस्ताङको आकर्षण भनेको नै .यहाँको फरक जीवनशैली हो । देशमा मुस्ताङ क्षेत्रमा कागबेनी, नौतले गुफा, थकाली संस्कृति, मनमोहक प्राकृतिक दृश्य र कोरला नाका आदि ठाउँहरु प्रसिद्ध छन् ।

रारा :


देशकै सबैभन्दा ठूलो ताल रारा पुग्ने इच्छा जो कोहीलाई हुन्छ । धर्तीकै स्वर्गको रुपमा पनि रारालाई धेरैले विश्लेषण गर्ने गरेका छन् । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा ताल घामको किरण अनुसार रङ फेर्ने गर्छ ।प्रकृतिको उपहारको रूपमा सृजित रारातालको मनोरम हरियाली, यहाँ पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूलेसमेत आकर्षक बनाउने गरेका छन् ।रारातालबाट ३ घण्टाको पैदल यात्रा पछि यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । यो ठाउँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीँ नपाइने असला जातको माछासमेत पाइन्छ ।
सुर्खेतबाट दुई हप्ता हिंडेरमात्रै रारा पुग्न सकिन्थ्यो । तर अहिले हवाई उडान र मोटरबाटोको सुविधा राराको नजिक पुगेकाले लामो समय लाग्दैन । मोटर चढेर जान चाहनेका लागि सुर्खेतबाट कालीकोट हुँदै रारा पुग्न सकिन्छ । त्यस्तै बाँकेको नेपालगञ्ज र सुर्खेतबाट हवाई उडानमा मुगुको ताल्चासम्म पुगिन्छ र ताल्चाबाट केही घण्टा हिंडेपछि रारा पुग्न सकिन्छ ।रुट नम्बर १ : मोटरबाट पैदलहुँदै रारा पुग्ने बाटो सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्गअन्तर्गत कालिकोटको माग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौर हुँदै रारा तालको छेवैमा पुग्न सकिन्छ । फोरहवील गाडीमा सजिलै रारा ताल पुग्न सकिन्छ ।

खप्तड :

प्राकृतिक सुन्दरताको अनुपम उपहार हो खप्तड । डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थलमा रहेको खप्तड क्षेत्रलाई सुदूरपश्चिमकै भूस्वर्ग पनि भनिन्छ । वैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकिएको हुन्छ ।खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । खप्तड धार्मिक क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु रहेका छन् ।धनगढीबाट आठ घण्टाको बस यात्राबाट डोटीको सिलगढी पुगेपछि पैदल यात्रामा पहिलो दिन झिगराना पुगिन्छ भने अर्को दिनमात्रै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ ।

इलाम :

महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ ।यहाँको चियाबारी, हरियाली, साना–ठूला नदी–नाला, पोखरी, मठ–मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्व हुन् । नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ ।इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम घुम्नका लागि असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ ।

लाङटाङ :

रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार आदिको अवलोकनका लागि लाङटाङ उपयुक्त गन्तव्यस्थल हो । लाङटाङ हिमाल र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र हो लाङटाङ ।पदयात्राका लागि निकै नै उत्कृष्ट मानिने यो क्षेत्रलाई नेपालको तेस्रो गन्तव्यको रुपमा चिनिने गर्छ । नेपालको राजधानीबाट नजिकै पर्ने यो क्षेत्र धार्मीक महत्वका हिसाबले पनि महत्वपूर्ण भएकाले धार्मीक पर्यटक पनि यो क्षेत्रमा जाने गरेका छन् ।

कोशी टप्पु :

कोशी टप्पु वन्यजन्तु आरक्ष चरा अवलोकन गर्नेहरुका लागि उपयुक्त गन्तव्यस्थान हो । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ ।
कोशी टप्पुलाई अर्नाको राजधानी र चराहरूको स्वर्गका रुपमा चिनिने गरिएको छ । तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो ।
कोशीको टप्पुको टप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ । सिसौ, खयर र सिमलका रूख र पोथ्रा–पोथ्रीहरूले भरिएको यो टप्पु सिमसार भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि विश्वमै प्रसिद्ध छ ।विराटनगरबाट ५० किमी उत्तर–पश्चिम र धरानबाट ४० किलोमिटर पश्चिम दक्षिणमा रहेको कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। कोशीटप्पु पुग्न इटहरी र इनरुवा बीचमा पर्ने झुम्का तथा धरानबाट चतरा भएर जानुपर्ने हुन्छ ।

यसबाहेक काठमाडौं उपत्यका र देशका अरु ठाउँ पनि नयाँ वर्षमा घुमफिरका लागि उपयुक्त छन् ।

Share this

Related Posts

Latest
Previous
Next Post »