बुटवल — बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा आइतबार बिहान देखि भएको आगलागी नियन्त्रणमा आएको छ ।
४ घण्टाको लामो प्रयासपछि बिहान साढे ८ बजे आगो निभाउन सफल भएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए ।
सुपरमार्केटले बिहान करिब साढे ४ बजे प्रहरीलाई आगलागी भएको खबर गरेको थियो । लगत्तै बुटवल, सिद्धार्थनगर सहित नवलपरासीको रामग्राम र कपिलवस्तुको वाणगंगाबाट झिकाएका ४ वटा दमकल, नेपाली सेना र प्रहरी आगो निभाउन खटिएका थिए ।
आगलागीबाट विद्युतीय सामान रहेको पाँचौं तला र त्यसका सबै संरचना नष्ट भएका छन् । क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरी प्रमुख एसपी ज्ञवालीले बताए ।
